काठमाडौं बाहिरका तारे होटल ‘रिभाइभल टेकअफ’मा, विदेश घुम्ने नेपाली तानिए हाइ इण्ड सर्भिसमा

काठमाडौं। घुमघाम र होटल-रेस्टुरेन्टको मज्जा लिन नेपालीले कति खर्च गर्न सक्छन्? विदेशीलाई मात्रै खर्चिला ग्राहक मान्दै आएका राजधानीबाहिरका होटल रेस्टुरेन्टका सञ्चालक यसपटकको क्रिसमस र न्यु इयरको पहिलो दिन छक्क परे।

अनपेक्षित संख्यामा पाहुनाको भीडभाड हुँदा होटल रिसोर्टले एकै दिनमा मनग्गे कमाउनुका साथै आफ्नो सेवाको गुणस्तरबाट आन्तरिक पर्यटकलाई परिचित गराएका छन्।  महंगा महंगा होटल रिसोर्ट उक्त दिन खचाखच भए। 

एक दिनको बसाइका लागि १० हजारभन्दा बढी शुल्क रहेका राजधानी बाहिरका पाँचतारे स्तरका होटलहरू खचाखच हुँदा व्यवसायीले राहतको सास फेरेका छन्।  विदेशी पर्यटकको पर्खाइमा रहेका व्यवसायीलाई आन्तरिक पर्यटकको चहलपहलले हिम्मत बढाइदिएको छ। 

यसले गर्दा पछिल्लो समय काठमाडौं बाहिरका पाँचतारे स्तरका होटल ‘सर्भाइभल मुड’ मा रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्। विदेश घुम्दै आएका नेपाली पर्यटक रोकिएर आन्तरिक भ्रमणमा आकर्षित हुँदा यस्तो अवस्था आएको हो। यसपटक क्रिसमस र अंग्रेजी नयाँ वर्षका दिन पोखरा, चितवन र धुलिखेलका पर्यटकीय होटल रिसोर्ट आन्तरिक पर्यटकले खचाखच भए।

‘बर्सेनि विदेश घुम्ने बानी परेकाहरू यो पटक देश घुम्दैछन्, त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रले पाउन थालेको हो,’ एक जना व्यवसायीले भने, ‘यसले लड टर्म धान्छ भन्ने होइन तर व्यवसाय भएन भने आत्तिएकालाई धेरै राहत भने भएको छ।’ 

यसले आन्तरिक पर्यटनको लहर चलेको देखिएको उनले बताए। यो समय घुमघाममा सरिक हुने नेपालीलाई आफ्नो सेवा प्रस्तुत गर्ने अवसर प्राप्त भएको व्यवसायीले जनाएका छन्। क्रिसमस र न्यू इयरको पहिलो दिन पोखराको सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पामा ८० प्रतिशत भन्दा बढी अकुपेन्सी कायम भएको सञ्चालक विप्लव पौडेलले बताए।

‘बर्सेनि विभिन्न देशबाहिर घुम्दै आएका नेपालीले यो अवसरमा आफ्नै मुलुक भ्रमण गरेका छन्। यसो हुँदा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय स्तरको सेवा दिँदै आएका होटललाई आफ्नो सेवाको अवस्था जानकारी दिन अवसर प्राप्त भएको छ,’ उनले भने, ‘नेपालका होटलहरूको स्तर अहिले संसारका चलेका स्तरीय होटलहरूका तुलनामा कम छैन।’ 

नेपाली मार्केटमा जानलाई सहयोग पुगेको उनले जानकारी दिए। ‘समय मिले लगत्तै तुरुन्तै विदेशमा घुम्न जाने एउटा लेवलको सर्कललाई समेट्ने अवसर पाइएको छ। कोभिडका कारण एउटा मार्केट क्रिएट हुन सुरु भएको छ,’ उनले भने। लकडाउन र निषेधाज्ञा हटेयता होटल-रिसोर्टहरूले आन्तरिक पर्यटक लक्षित प्याकेज पनि ल्याएका छन्।

बन्दाबन्दी खुकुलो भएसँगै रिसोर्टले आफ्नै सिम्पल प्याकेज कार्यान्वयनमा ल्याइरहेको बताउँदै पौडेलले भने,’बन्दाबन्दी खुकुलो भएसँगै पाहुना लक्षित आकर्षक योजनाभन्दा पनि सेवा गुणस्तरलाई निरन्तरता दिइँदै आइएको छ। प्याकेजले मात्र पर्यटकको आवगमन बढ्ने भन्दा पनि गुणस्तर सेवालाई प्राथमिकता दिइएको छ।’ पर्यटक आगमनमा यसको दिगो प्रभाव रहने उनले बताए।

हाइ इण्ड सर्भिस लिन चाहने पाहुनाका लागि आकर्षक योजनाभन्दा पनि सर्भिसको गुणस्तरले अर्थ राख्दै आएको छ। ‘गुणस्तरीय सेवा दिइएपछि उही पर्यटक फेरि आउने सम्भावना धेरै हुने र एक जनामार्फत थप पर्यटकको आगमन हुने सम्भावना देखिन्छ,’ उनले भने।
वर्षौंदेखि विदेश मात्र भ्रमण गर्दै आएका एउटा वर्ग आकर्षित भएको उनले जानकारी दिए। ‘अब घुम्नका लागि एउटा सर्कल आउनका साथै उनीहरुकै सिफारिसमा अरु पर्यटकको आगमन हुने देखिएको छ।’

यतिखेर फुल फ्लेजमा संचालित कास्कीको रुपाकोट रिसोर्टमा आन्तरिक पर्यटकको सहभागिता उल्लेख्य रहेको संचालक पुष्प अधिकारीले बताए। ‘तुलनात्मक रुपमा व्यवसायको अवस्था राम्रो छ,’ उनले भने, ‘हामी आशावादी हुन सक्ने अवस्था छ।’ 

उनका अनुसार यतिखेर नेपालका कूटनीतिक नियोगमा कार्यरत विदेशी कर्मचारी पनि घुम्न निस्केर रिसोर्टमा आइपुगेका छन्। ‘हामीले आकर्षक योजना भन्दा पनि आकर्षक सेवा सुविधालाई थप विस्तार गरेका छौं,’ उनले भने, ‘मंसिरयता गेस्ट बढेकै छन्। अब अन्तर्राष्ट्रिय उडान सुरु भइसकेपछि विदेशी पर्यटकको पनि सहभागिता रहने अनुमान गरिरहेका छौं। टुरिटस्टको इन्क्वाइरी आइरहेको छ।’ 

झापास्थित होटल मेची क्राउनमा आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको संचालक पवित्रकुमार कार्कीले बताए। ‘क्यासिनोबाहेक सबै सेवा संचालनमा ल्याइसकेका छौं,’ उनले भने, ‘रुम अकुपेन्सी बढेको छ। रेष्टुरेण्ट र इभेन्टका लागि पाहुना आइरहेका छन्।’ आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै सेवाको गुणस्तर वृद्धिसँगै रुममा ५० प्रतिशत र खानामा २५ प्रतिशत छुट दिँदै आएको उनले बताए। 

नेपाल-भारत सीमा नाका खुले सँगै नेपाली र भारतीय पर्यटकलाई मध्यनजर गर्दै थप आकर्षक सेवा विस्तार गर्ने योजना उनले सुनाए।

भरतपुरस्थित कविलाश रिसोर्ट एण्ड फन पार्कमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको प्रमुख कार्यकारी अधिकृत सुलभ ढकालले बताए। रिसोर्टले आन्तरिक पर्यटक लक्षित आकर्षक योजना सार्वजनिक गरेसँगै विकेन्डका लागि दैनिक एक हजार जनादेखि १५ सय पर्यटकको चहलपहल भइरहेको उनले जानकारी दिए। ‘सुरुदेखि नै आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै रिसोर्ट संचालनमा ल्याएका हौं। रिसोर्टसँगै फनपार्क, पिकनिक स्पट लगायतमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ।  

‘हामीले पछिल्लो समय आन्तरिक पर्यटक लक्षित बेड, ब्रेकफास्ट, लन्चसहित एक रात दुई दिनको बसाइका लागि प्रतिव्यक्ति दुई हजार ५० रुपैयाँको आकर्षक योजना सार्वजनिक गरेका छौं,’ उनले भने, ‘ग्राहकको इच्छा अनुसार प्याकेज कस्टमाइज गर्न सकिन्छ।’ आन्तरिक पर्यटक प्याकेजका अफर भन्दा पनि कोरोनाका कारण विदेश जान नपाएर घुम्न आएको देखिएको उनले बताए। 

पिकनिकका लागि आउन चाहने समूहले रिसोर्टमार्फत नै सुपथ मूल्यमा खानपिनसहितको सेवा लिने व्यवस्था रहेको उनले जानकारी दिए।  
आन्तरिक पर्यटकलक्षित आकर्षक योजना सार्वजनिक गरेलगत्तै चितवनस्थित जगतपुर लजमा यतिखेर ५० प्रतिशत अकुपेन्सी रहेको अन्नपूर्ण ग्रुप अफ होटलले जनाएको छ।

क्रिसमसदेखि उल्लेख्यरूपमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको लजमा गत ४ तारिखसम्म सत प्रतिशत अकुपेन्सी रहेको लजका कार्यकारी उप्रबन्धक अनिल श्रेष्ठले बताए। ‘आकर्षक योजना सुरु गरेसँगै पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल छ। अब आउने दिनमा आन्तरिक पर्यटक लक्षित थप आकर्षक योजना ल्याउन लागेका छौं,’ उनले भने। स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायमलाई पालना गर्दै लजले कोभिड अगाडि आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम भने तत्कालका लागि स्थगित गर्दै आएको उनले जानकारी दिए।  

रुम, फुड एण्ड बेभरेजेजमा १० प्रतिशत छुटको योजना सार्वजनिक गरेसँगै बर्दियास्थित बर्दिया टाइगर रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहलमा सुधार आएको प्रबन्धक हेमराज आचार्यले बताए। गत कात्तिक महिनादेखि रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको उनले जानकारी दिए।

उनका अनुसार क्रिसमस, न्यु इयरमा फेल अकुपेन्सी कायम भएको रिसोर्टमा यतिखेर न्यूनतमा २० प्रतिशत अकुपेन्सी छ। ‘कात्तिक महिना  अगाडि त व्यवसाय नै शून्य थियो। विगतका वर्षसँग तुलना गर्दा अहिले पनि व्यवसाय उल्लेख्य छैन। तर हुँदै गएको सुधारले आशा जागेको छ,’ प्रबन्धक आचार्यले भने।

एक वर्ष अगाडि बर्दियामा संचालनमा आएको बबइ रिसोर्टले आफ्नो सेवामा ६० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेयता आन्तरिक पर्यटकको सहभागिता बढ्दै गएको संचालक धर्म घिमिरेले बताए। ‘मंसिरदेखि सुरु हुन थालेको पाहुनाको चहलपहलले विशेष अवसरमा सत् प्रतिशत अकुपेन्सी कायम  हुँदै आएको छ,’ उनले भने, ‘क्रिसमस र न्यू इयरमा अकुपेन्सी सत् प्रतिशत कायम भएको हो। पछिल्लो समय २५ प्रतिशत अकुपेन्सी छ।’

धनगढी, बाँके र दाङ लगायतबाट आन्तरिक पर्यटक साप्ताहिक बिदा पारेर आइरहेका छन्। एक रात दुई दिनका लाग आउने पर्यटक प्राय रीफ्रेसमेन्टका लागि आएको उनले बताए। ‘पर्यटकीय गतिविधिमा सुधार हुँदै आएको छ। कोरोनाका कारण सीमा सिल छ। खुलेपछि पर्यटक अझ बढ्ने अनुमान गरेका छौं,’ संचालक घिमिरेले भने।           

अन्तिम पटक अध्यावधिक गरिएको 67 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज