ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य आजदेखि सामाजिक सञ्जालमा (भिडियोसहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

महाशाखाले बेला–बेलामा जनचेतनामुलक कार्यक्रमहरु मार्फत ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी शिक्षालाई व्यापक बनाउँदै ट्राफिक व्यवस्थापनमा सुधार समेत गर्दै आइरहेको छ ।

पछिल्लो समय ट्राफिक महाशाखाले गीतसँगीतको माध्यमबाट ट्राफिक नियम सिकाउँदै आएको छ, यसलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नृत्य गरेको भिडियो तयार गरेको छ ।

गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले व्यावहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए ।

गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोगलगायतका ट्राफिक नियम समेटिएका छन ।

गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाँकन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन ।

आज शुक्रबारदेखि ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानल लगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 335 Viewed

प्रतिक्रिया दिनुहोस्


रिलेटेड न्युज